पोखरा।
कास्की क्षेत्र नम्बर र्२ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । एमाले केन्द्रीय सदस्य एंव कास्कीका इन्चार्ज समेत रहेका कृष्ण थापालाई एमाले केन्द्रीय सचिवालयले नै उम्मेदवार चयन गरेकोमा उनको ठाउँमा युवा नेता रश्मी आचार्य उम्मेद्वार बनाउने समाचार सार्वजनिक भएको हो । तर, नेकपा एमाले कास्कीका ईन्चार्ज कृष्ण थापाले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार आफू नै रहेको बताएका छन् । यता युवा नेता रश्मी आचार्यलाई ‘क्षेत्र नम्बर २ को उम्मेदवार तपाइँ हो’ भन्दै पार्टी केन्द्रले नै तयारीमा लाग्न भनेको छ । उम्मेदवार चयन गरिएको पत्र दुबैजनाले बुझेका छैनन् ।
नेता कृष्ण थापाकै आग्रहमा उम्मेदवार हेरफेर भएकोे चर्चालाई थपाले इन्कार गरेका छन् । उनले टिकट होल्ड गरेर अनर्गल चर्चा गर्दै आफू विरुद्ध सड्यन्त्र भएको केन्द्रभाग डटकमसंग प्रतिक्रिया दिए । ‘पार्टी सचिवालयले कास्की क्षेत्र नम्बर २ को उम्मेद्वार भनेर मलाई निर्णय गरिसकेको छ । टिकट होल्ड गरेर अनर्गल प्रचार गर्दै मेरा विरुद्ध सड्यन्त्र भएको महसुस् भएको छ ।’ उनले भने, ‘उम्मेदवार परिवर्तन भएका विषयमा कसैले मलाई सोधेको पनि छैन र मैले कसैलाई समर्थन र विरोध गर्ने कूरा पनि भएन । यो सबै अनर्गल प्रचार हो ।’
नेता थापाले ‘उम्मेदवार परिवर्तन नै भएको भए तपाइँको प्रतिक्रिया के हो ?’ भन्ने जिज्ञासामा ‘त्यो हुँदै नभएको कूरामा मैले कसरी प्रतिक्रिया दिनु , सचिवालयले गरेको निर्णयमा दायाँबायाँ हुँदैन । भएछ र अन्यथा कूरा आएमा त्यतिबेला प्रतिक्रिया दिउँला’ भनेका छन् । थापाले कास्की क्षे नम्बर २ बाट उम्मेदवार सिफारिस भएकाहरुलाई सोमबार विहान एकै ठाउँमा राखेर कूरा गर्दा सबैले पार्टी निर्णयलाई मानेर आफूलाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको बताए ।
एमालेले कास्की क्षेत्र नम्बर २ मा परिवर्तन गरेका उम्मेदवार रश्मी आचार्य पनि एमाले केन्द्रीय सदस्य हुन् । आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत हुन् । उनले पनि आफूले टिकट हात भने पारिनसकेको तर, केन्द्रबाट आफूलाई उम्मेदवार बनाउने जानकारी आएको बताए । ‘टिकट नै हात परेको होइन । तपाइँ उम्मेदवार हो, तयारीमा लाग्नुहोस् भन्ने जानकारी आएको छ । पार्टी केन्द्रको निर्णयलाई सबैले स्विकार गर्नुपर्छ’ उनले भने ।















