नेपाल प्रहरीका ८ जना डीआइजीको सरुवा, गण्डकीमा दिपेन्द्र घर्ति क्षेत्री आउने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल प्रहरीका ८ जना डीआईजीकोे सरुवा भएको छ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता लागु हुनु पूर्वा नेपाल प्रहरीका डीआईजीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ । गृह मन्त्रालयको ४ माघको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो ।

सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे प्रधान कार्यालयले मातहतका युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाहीका लागि निर्देशन दिएको छ ।

जस अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेश कुमार आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंमा सरुवा भएको छ । प्रतिठानका डीआईजी दिपेन्द्र घर्ति क्षेत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय सरुवा भएको हो ।

यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुण पौडेललाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत जयराम सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्वेसण योजना तथा विकास निर्देशनालयका दिपक रेग्मीलाई बागमति प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी माधव प्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा, केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा कार्यरत भुपेन्द्र बहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेन्द्र प्रसाद भट्टलाई केन्द्रीय प्रहरी कार्यालय अन्वेशण योजना तथा विकास निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

  • ५ माघ २०८२, सोमबार ०९:५७ प्रकाशित