काठमाडौं ।
निर्वाचन आयोगले आज (शुक्रबार) सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको हो ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ । त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने तयारीमा आयोग जुटेको हो । आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने जानकारी दिइन् ।
उनका अनुसार आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ ।
जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । त्यस्तै, न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ । न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य र बाँकी निर्वाचन अधिकृतहरूको नाम तोकेको हो ।















