काठमाडौं ।
आज देशव्यापी रूपमा विविध कार्यकमसहित २८ औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ मको दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।
खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने ? विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरू के हुने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताए । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
१९९० को भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको ज्यान गुमेको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए । यसैगरी १२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा परेर आठ हजार ६७० जनाको ज्यान गुमेको थियो । जसका कारण सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो ।
जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको छ । उक्त भूकम्पमा परी १५३ जनाको ज्यान गुमेको थियो ।















