उज्वल सहकारीको १८औँ साधारण सभा एवं छैटौँ अधिवेशन , अध्यक्षमा पुनः बास्तोला

केन्द्रभाग मिडिया

पोखरा ।

उज्वल बचत तथा ऋण सहकारी संस्था लि पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ ।

अधिवेशनबाट आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा पुनः नरेन्द्र बास्तोला निर्वाचित भएका छन् । ९ सदस्यीय संचालक समितिको उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित भए भने सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मालाई चयन गरिएको छ ।

यसैगरी, लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरुमा ओमनाथ अधिकारी र केशव बहादुर थापा निर्वाचित भए । संचालक समिती र लेखा समितिका सबै पदहरुमा सर्वसम्मत भएको निर्वाचन संयोजक कृष्णराज आचार्यले जानकारी दिए ।

साधारणसभाको अवसरमा बोल्दै प्रमुख आमन्त्रित व्यक्तित्व समाजसेवी एवं संस्थाका जेष्ठ सदस्य प्रेमबहादुर श्रेष्ठले आफुले जिवनको लामो समय सहकारी अभियानमा ब्यतित गरेको भन्दै अहिले केही छट्टु व्यक्तिहरुले सहकारी क्षेत्रलाई नै बदनाम गराईदिएकोमा चिन्ता व्यक्त गरे । ऋण प्रवाह गर्दा बिचार गर्नु पर्नेमा जोड दिदै उनले बिश्वासको भरमा मात्रै ऋण दिने गरेको कारण सहकारीहरुमा समस्या देखा परेको बताए ।

संस्थाका सल्लाहकार एवं पत्रकार नारायण कार्कीले तीन खम्बे अर्थ नितीको बिषयमा प्रकाश पार्दै सहकारीहरु सहकारीका सात सिद्धान्त भित्रै बसेर संचालन हुनु पर्नेमा जोड दिए ।

पुन: निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष नरेन्द्र वास्तोलाले उज्वल सहकारीलाई अझ सुरक्षित, पारदर्शी, प्रविधिमैत्री तथा सदस्य–मैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सदस्यहरूको बचतको पूर्ण सुरक्षा, मर्यादित कर्जा प्रणाली, डिजिटल सेवा विस्तार, युवामैत्री कार्यक्रम तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राखिने बताए ।

कार्यक्रममा सहकारी विज्ञ धर्मराज अर्याल, सहकारीका साधरण सदस्य एवं पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक इन्द्र प्रसाद शर्मा लगायतले बोलेका थिए ।
संचालक समिति सदस्य विमला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अर्का सदस्य पुजन राजभण्डारीले सहकारीका सात सिद्धान्त माथि प्रकाश पारेका थिए। संस्थाका अध्यक्ष नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सुरेन्द्र बास्तोलाले गरेका थिए ।

साधारण सभाले संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत प्रगति समेटिएका वार्षिक प्रतिवेदनहरु सर्वसम्मत रूपमा पारित गर्दै आगामी कार्यदिशा निर्धारण गरेको छ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता हिमलाल शर्मा तिमिल्सिना र उषा काफ्ले, उत्कृष्ट कारोबार गर्ने आईती श्री थापा र लक्ष्मी कोइराला, हालै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सचिबमा निर्वाचित संस्थाका सचिब सुरेन्द्र बास्तोला र कर्मचारीहरु पुस्पराज बास्तोला तथा निर्मला सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अग्रजहरू, पूर्व अध्यक्षहरू, शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

  • १ माघ २०८२, बिहीबार १७:२२ प्रकाशित