चुनाव नलड्ने पूर्वमन्त्री हृदयराम थानीको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गर्दै उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् ।

तर, आफू भने उम्मेदवार नहुने उनको घोषणा छ । चुनाव नलड्ने घोषणामा भने उनले स्वास्थ्यको कारण भनेका छन् ।

‘मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु’ उनले सूचना नै निकालेर भनेका छन् ।

उनको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि कांग्रेसको तर्फबाट उम्मेदवार सिफारीस भएको छ ।

तर, आफू करिब २ महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याले गर्दा सहजरुपमा हिडडुल गर्न समेत नसकिरहेको उल्लेख गर्दै उनले डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरिरहेको बताएका छन् ।

  • १ माघ २०८२, बिहीबार १३:०७ प्रकाशित