भारतको हिमांचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । विस्फोटपछि आगलागी समेत भएको वरपरका घरहरु समेत जलेर ध्वस्त भएका छन । उनीहरूको घटनास्थलमै ज्यान गएको बताइएको छ । सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् ।
यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको वडा सदस्य विकले जानकारी दिए । उनीहरू विगत करिब दुई वर्षअघि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको बुझिएको छ ।
अहिले सम्म ५ जनाको शव फेला परेको छ भने बाँकी शवको खोजि कार्य जारी छ । शव तितर वितर भएकाले हालसम्म सबै शवको औपचारिक पहिचान प्रक्रिया पूरा भइनसकेको र घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन् ।















