कांग्रेसको चुलिँदो संकट टार्न सभापति देउवा र विशेष महाविधेशन पक्षधरबीच वार्ता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसभित्रको चुलिएको आन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवै पक्षले पहल थालेका छन् ।

काठमाडौंमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई अहिले विहान ९ बजसम्म रोकेर दुबैपक्ष छलफलको तयारीमा छन् । पार्टी विभाजनको जोखिम बढेपछि संस्थापन र विशेष महाधिवेशन पक्षधरले वार्ता समिति गठन गरेर सहमतिको प्रयास अघि बढाएका हुन् ।

विशेष महाधिवेशन पक्षधरका तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे छन् । देउवा समूहबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने जनाइएको छ ।

विशेष महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कार्यसमिति विघटनको प्रस्ताव आएपछि कांग्रेस भित्र संकट गहिरिएको हो । कार्यविधिको ५ (घ) मा २०७८ को १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिएको भन्दै विघटन गर्ने र १५ औं महाधिवेशन नहुँदासम्म नयाँ कार्यसमिति चयन गर्ने उल्लेख छ ।

  • २९ पुष २०८२, मंगलवार ०८:३२ प्रकाशित