काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा मंगलबार निर्वाचनको प्रक्रियामा जाने कार्यतालिका रहेका बेला कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।
विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियासम्म जाने गरी कार्यविधि पारित भइसकेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्य सचिव पौडेलले जारी गरेको केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबारका दिन बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’















