काठमाडौं ।
सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
वि।सं। १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक ई। रविन्द्र बोहराले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरुलाई यो दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन जारी भइसकेको जानकारी दिए ।
‘सबै तहका सरकार, सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिनेछ,’ उनले भने, ‘यस दिन वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामवद्ध भई भूकम्प सुरक्षा र्यालीमा भाग लिनेछन् । वसन्तपुर बाट शुरु भएर उक्त र्याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्नेछ । र्याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ ।’
भूकम्प सुरक्षा दिवसका बारेमा जानकारी दिन सोमबर विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक बोहोराले देशव्यापी रुपमा विविध कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाउने कार्यक्रम रहेको बताए ।















