काठमाडौं ।
कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी ९उनेपा०ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारी गरेको छ ।
निर्वाचन आयोगको आधिकारिक निर्णय लिएर आफूहरू अदालत जाने तयारी गरिरहेको उनेपाका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।
उनले उनेपाले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको र त्यसको लागि पैसा समेत तिरिसकेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग एकता गरिएको बताउँदै भने,’अब रास्वपासँगको एकता टुटेपछि समानुपातिक उम्मेदवारको बन्दसूची छुट्टै बुझाउन पाउनु पर्ने भन्दै अदालत जाने तयारीमा छौँ ।’
उनले भने,’हामीले समानुपातिक निर्वाचन लड्ने भनेर समयमा नै दल दर्ता गरेकै छौँ । समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिद पनि लिएका छौँ । समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै हाम्रो सूची लिइयोस् भनेर यसअघि नै निवेदन दिएका छौँ । त्यसबारे निर्वाचन आयोगको आधिकारिक निर्णय गरेको छैन ।’
उनेपा अब निर्वाचन आयोगको निर्णय कुर्दै अदालत जाने तयारीमा छ । अहिले निर्वाचन आयोगमा पुगेर आफूहरूले निवेदनको विषयमा जानकारी लिएको लामाले बताए ।
उनले आयोगले अहिलेसम्म कुनै पनि निर्णय नभएको जानकारी गराएको र उनेपाको समानुपातिक बन्दसूची नलिएकाले अदालत जाने बताए ।















