गायक प्रशान्त तामाङको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे ।

‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भने ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् ।‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।

त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।उनले थुप्रै चर्चित गीत दिएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

  • २७ पुष २०८२, आईतवार १२:३५ प्रकाशित