काठमाडौं ।
सरकारले मुग्लिङ–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्मको सडकको सीमा ‘राइट अफ वे’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त खण्डको सडक सीमा ३० मिटर रहने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरेको सूचनामा उल्लेख छ । नयाँ रेखाङ्कन अनुसार मुग्लिङ बजारको पारिपट्टि त्रिशूली किनार ९गोरखातर्फ० देखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्मको सडकको सीमा तोकिएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार हालको राजमार्गको समानान्तर हुने गरी थप सडकको रेखाङ्कन गरिएको छ । उक्त सडकको केन्द्र रेखाबाट दायाँ १५ मिटर र बायाँ १५ मिटर गरी जम्मा ३० मिटर सडकको सीमा निर्धारण गरिएको छ ।
जारी सूचनामा मुग्लिङ बजारको पारिपट्टिबाट मर्स्याङ्दी विद्युत् गृहसम्मको खण्डलाई समेटिएको छ । यो निर्णयसँगै उक्त क्षेत्रमा सडक विस्तार र निर्माणको कामलाई अगाडि बढाउन कानुनी बाटो खुलेको छ ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत यो खण्ड प्राविधिक र भौगोलिक कारणले चुनौतीपूर्ण मानिँदै आएको थियो ।














