काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।
शुक्रबार ललितपुरको पुल्चोकमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट पुरा गर्नु हो ।’
सिङ्गो देश निर्वाचनमा होमिएको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै उनले भने, ‘सुशासन कायम राख्न सरकार कटिबद्ध छ ।’
गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराए ।















