पोखरा ।
पोखरा महानगरपालिकाले गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले महानगर क्षेत्रभित्रका किसानलाई यस्तो अनुदान दिइने जानकारी दिए । उनका अनुसार स्थानीय पशुपालक किसानका फार्ममा पूर्ण रूपमा उपयोग नभई खेर जाने मलको सदुपयोग गर्न र खरिद गर्ने किसानलाई राहत दिन यस्तो कार्यक्रम ल्याइएको हो । जिल्ला दररेट अनुसार मलको खरिद र ढुवानी दुवैमा ५० प्रतिशत अनुदान दिने गरी महानगरले सूचना समेत प्रकाशन गरिसकेको उनले जानकारी दिए ।
यस वर्ष अनुदान कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । जिल्ला दररेट अनुसार हाल गोबरको मलको मूल्य प्रति किलो ३ रुपैयाँ २५ पैसा रहेको छ । रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक मलको प्रयोग बढाउनका लागि यो कार्यक्रम उपयोगी बन्ने विश्वास कडरियाले व्यक्त गरे । प्राप्त निवेदनका आधारमा किसानहरूलाई यो अनुदान वितरण गरिने उनले बताए ।
‘यो कार्यक्रमसँगै पशुपालक किसानलाई पनि आफ्नो फार्ममा खेर जाने मल बिक्री भई सहयोग पुग्ने छ भने तरकारी तथा फलफूल लगाउने किसानलाई खरिद र ढुवानीमा दिइने अनुदानले राहत मिल्नेछ,’ उनले भने, ‘यसले किसानलाई उत्पादनको लागत घटाउन पनि मद्दत पुग्छ ।’ यो पहलले पशुपालन र कृषि उत्पादन क्षेत्रलाई एक अर्कामा जोड्न र सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महानगरले लिएको छ ।
प्रांगारिक मलको प्रयोगमा जोड दिँदा माटोको उर्वरा शक्ति कायम रहने र विषादीरहित उत्पादनमा सहयोग पुग्ने कडरियाको भनाइ छ ।















