विना रुट पर्मिट जुनसुकै ठाउँमा पुग्छन् भारतीय सवारीसाधन

गोविन्द सुवेदी

पोखरा ।

भारतीय यात्रुबहाक सवारी साधन नेपालमा विना रुट पर्मिट जुनसुकै ठाउँमा पनि पुग्ने गरेका पाइएको छ । केन्द्रभाग डटकमले सञ्चालन गरेको कार्यक्रम ‘हाम्रो यातायात’को ट्राफिक सन्देश सेग्मेन्टको शनिबार छायांकनको क्रममा यस्तो पाइएको हो । पोखरा भित्रिने पश्चिमी नाका छोरेपाटनमा ट्राफिक प्रहरीले चार वटा भारतीय यात्रुबहाक सवारीसाधन चेकजाँच गर्दा तीनवटा सवारीसाधन बिना रुट पर्मिट घुमेको पाइएको थियो भने, एउटा सवारीले मात्र रुट पर्मिट लिएको पाइएको हो ।

भारतीय सवारी चालक सरिफ खानले आफू नेपाल धेरैपट आउने जाने गरेको तर रुट इजाजतको विषयमा पहिलो पटक सुनेको बताए । एमपी २० सीएफ २१२७ नम्बरका चालक उनी आफ्नो गाडीमा सवार अरु चारजनासंग पाँचदिन पोखरासहित नेपालका विभिन्न भाग घुमेर शनिबार राति नै भारत फर्कने तयारीमा थिए । आफूलाई बोर्डरपास दिँदा ट्राफिक पर्मिटको बारेमा बताएको भए त्यहीँ इजाजत लिएर आउने उनले बताए । ‘यस अगाडि पनि म धेरैपटक नेपाल आउने जाने गरेको छु । भन्सार पास देखाएपछि ट्राफिक प्रहरीले छाड्थ्यो । आज मात्र रुट इजाजत मागियो, मलाई यस विषयमा केही पनि थाहा भएन,’ उनले भने ।

अर्का सवारी चालक लेखन मिश्रले पनि आफूहरुले प्रक्रिया पूरा गर्न कुनै समस्या नरहेको बताए । सुन्दर नेपाल घुम्नका लागि जति पनि खर्च गर्न तयार रहेको सुनाएका उनले रुट प्रमिटको विषयमा जानकारी नभएको र अहिलेमात्र जानकारी पाएको भन्दै आस्चर्य प्रकट गरे ।

यता पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेल भने भारतीय गाडीहर निर्वाध रुपमा विना रुट पर्मिट जुनसुकै ठाउँमा पुग्ने गरेको विषयमा आफूहरुले धेरै पहिलेदेखि नै आवाज उठाउँदा उठाउँदै थाकेको प्रतिक्रिया दिए । नेपाल र भारत बिचको पारबहन सन्धी नै असमान रहेको विषयसहित अस्थायी रुट इजाजतका विषयमा केही दिन अगाडि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा आउँदा समेत कुरा गरेको उनले स्मरण गरे । नेपाली सवारी चालकलाई अनेक झमेला दिइने तर, भारतीय सवारीसाधनलाई भने बिना चेकजाँच जहाँतहीँ घुम्न दिने गरेको उनको आरोप छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले भारतीय सवारी साधनको रुट प्रमिट नहेरिएको स्विकार गरेका छन् । भन्सार कार्यालयमा जाँचपास गरेर इजाजत लिएपछि हुन्छ भन्ने बुझाई रहेको उनले स्विकार गरेका हुन् । यस विषयमा जिल्ला सुरक्षा समितिमा कुरा उठेपछि बल्ल आफूहरुले हेर्न लागेको उनले बताए । ‘पहिले हामीले सिमा नाकाबाट जाँच पास लिएपछि पुग्छ भन्ने बुझाइ थियो । केही दिन अगाडि सुरक्षाको कूरा उठ्यो । सीडीओ सावले भारतीय सवारीसाधनको रुट पर्मिट पनि हेर्नु, त्यो अनिवार्य छ भन्नुभयो । यातायात कार्यालयले पनि अनिवार्य भनेपछि हामीले हेर्न लागेका छौं । यसमा कडाइ गछौंं,’ उनले भने ।

नेपाली सवारीसाधनको स्थायी रुट इजाजत बाहेकका ठाउँमा ५० किलोमिटरसम्म १ सय १० रुपैयाँका दरले राजश्व बुझाउनु पर्छ भने भारतीय मोटरसाइकलको हकमा प्रतिदिन २ सय, मझौला गाडीको हकमा प्रतिदिन ५ सय र ठूला बसको दैनिक ७ सयको दरले राजश्व बुझाई इजाजत पत्र दिने व्यवस्था छ ।

 

 

  • २३ पुष २०८२, बुधबार ०९:४३ प्रकाशित