काठमाडौं ।
नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा.शेखर कोइरालासँग छलफल गरेको छ ।
पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् ।
केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिए ।
मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास रहेको छ ।















