काठमाडौं ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसंग छलफल गरेका छन् ।
प्रचण्ड निवासमा बिहान नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने विषयमा छलफल भएको हो । सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने, नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबिच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
‘दलको मतभारको आधारमा सम्मानजनक सिट बाँडफाँट भए मात्र कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्न सकिन्छ । हामीले जितेका सबै सिट दिनुपर्छ भन्ने कुरा त भएन । सहमति नभए एकल उम्मेदवारी कुराकानी भएको छ । कांग्रेस र एमालेका कुनै पनि नेतासँग छलफल भएको छैन’, प्रचण्डको सचिवालयले भन्यो ।
नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए । भारत प्रस्थान गर्नुअघि प्रचण्डले चुनावी तालमेलको विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए ।















