वीरगञ्जमा निषेधाज्ञा तोडेर प्रदर्शन, प्रहरी र हिन्दुवादी सङ्गठनबिच झडप

केन्द्रभाग मिडिया

पर्सा ।

जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेलगत्तै वीरगञ्जमा प्रहरी र हिन्दुवादी सङ्गठनबिच झडप भएको छ। प्रशासनले सोमबार दिउँसो १ बजेदेखि महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरे तापनि प्रदर्शनकारीले त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि स्थिति तनावपूर्ण बनेको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्ने प्रयास गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भिडन्त सुरु भएको हो। प्रदर्शनमा उत्रिएका हिन्दुवादी सङ्गठनका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि वीरगञ्जको अवस्था थप उग्र बनेको छ। अहिले वीरगञ्ज महानगरपालिकाको मकालु चोक क्षेत्र सबैभन्दा बढी संवेदनशील र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।

प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा भेला र जुलुस गर्न रोक लगाएको भए पनि प्रदर्शनकारीले त्यसलाई तोडेका छन्। वीरगञ्जमा बढ्दो तनावलाई नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षा बल परिचालन गरेको छ।

  • २१ पुष २०८२, सोमबार १४:४७ प्रकाशित