रेशम चौधरीको आम माफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।

रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।

सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेका थिए, तर लिखित जवाफ पेस भएपछि भने अहिलेसम्म सुनुवाइको पालो नै आएको छैन । कारण देखाऊ आदेशपछि यो मुद्दामा दुई वर्षसम्म सुनुवाइ हुन सकेको छैन ।

  • २१ पुष २०८२, सोमबार ११:०७ प्रकाशित