भेनेजुएलामा तत्कालका लागि अमेरिकाले नै सरकार चलाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।
भेनेजुएलामा तत्कालका लागि अमेरिकाले नै सरकार चलाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका हुन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म वेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको छ । अब मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवाद विरोधी इकाइ हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको फोटो सार्वजनिक गरेर मादुरो दम्पत्तिलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए । ट्रुथ सोसलमा सार्वजनिक फोटोमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधेको देखिन्छ । उनले ग्रे रंगको ट्र्याकसुट लगाएको र कानमा हेडफोन राखेको देखिन्छ ।

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने जनाएको छ । उनीहरुमाथि लागुऔषध कारोबारलाई प्रश्रय दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

  • २० पुष २०८२, आईतवार ०८:५७ प्रकाशित