पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा समानुपातिक सांसद हुँदै मन्त्री बनेका गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का औपचारिक रुपमै राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) प्रवेश गरेका छन् । ‘अखण्ड नेपाल पार्टी’ गठन गर्दै संघीय मन्त्री बनेका उनी सो पार्टीलाई नै नेपाली कांग्रेसमा विलय गराएर कांग्रेसको तर्फबाट प्रदेश सांसद हुँदै मन्त्री बनेका थिए ।
कांग्रेसमा अवसर नपाएपछि उनी रास्वपा प्रवेश गरेका हुन् । उनीसंगै नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी र व्यवसायी मिलन थापा पनि रास्वपा प्रवेश गरेका छन् । उनीहरुलाई पोखरामा आयोजित आयोजित एक कार्यक्रममा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेताहरू पार्टीमा स्वागत गरेका हुन् ।
पुष्प अधिकारी नेकपा एमालेका स्थापित नेता हुन् । उनी चर्चित पर्यटकीय गन्तव्य रुपाकोट रिसोर्टका सञ्चालक समेत हुन् । लामो समय एमालेको राजनीतिमा सक्रिय अधिकारी व्यवसायीका रूपमा बढी चिनिन्छन् ।
पोखराकी व्यवसायी मिलन थापा पनि शनिबारै रास्वपामा प्रवेश गरिन् । अटो व्यवसायका साथै सामाजिक संघ संस्थामा क्रियाशील मिलन यसअघि नेपाली कांग्रेसमा थिइन् । उनी व्यवसायी ध्रुव थापाकी पत्नी र गण्डकीका मन्त्री बिन्दुकुमार थापाकी भाइ बुहारी हुन् ।
उनीहरूसँगै गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी दुई हजार एक सय जना शनिबार रास्वपा प्रवेश गरेको रास्वपाले दाबी गरेको छ । पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलगायत अन्य केन्द्रीय, प्रदेश र जिल्ला नेताको उपस्थितिमा उनीहरूलाई पार्टी प्रवेश गराइएको हो ।















