पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व घोषणा हुँदैन : गगन–विश्व

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन् । बिहान आफूहरूलाई भेट्न पुगेका ३० केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको चाहना पनि पार्टी एक रहोस् भन्ने रहेको बताएका हुन् ।

केन्द्रीय सदस्यहरू आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा.डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसी सहितले शुक्रबार बिहान महाराजगन्जस्थित एक होटलमा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए ।

त्यो भेटमा सहभागी केन्द्रीय सदस्य शेर्पाले महामन्त्रीहरूले पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्ने तयारीमा आफूहरू नरहेको बताएको जानकारी दिए ।

‘हामी सँगैको समन्वयमा साथीहरूले विशेष महाधिवेशनको तयारी गरिरहनु भएको छ । त्यसमा राजनीतिक प्रस्तावहरू पेस होलान् । त्यसको तयारी सुरु भएको छ,’ भेटमा महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व घोषणा हुन्न । तपाईंहरू ढुक्क हुनुस् । हामी पनि पार्टी एक रहोस् भन्ने चाहन्छौँ । त्यसका लागि प्रयास हुन्छ ।’

  • १८ पुष २०८२, शुक्रबार १५:५४ प्रकाशित