पोखरा ।
पोखरामा आज शुक्रबारदेखि दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने भएको छ ।
आजदेखि पुस २० गतेसम्म विहान ६ देखि ११ बजेसम्म लाइन काटिने प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिएका छन। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्नुपर्ने भएकाले दैनिक ५ घण्टा लाइन काटेर मर्मत गरिने केन्द्रका प्रमुख यादवले बताए।आज बिहान ६ बजेदेखि पोखराका अधिकांश क्षेत्रमा ५ घण्टा बिजुलीको लाइन काटिएको थियो ।
२० गतेसम्म बसबार मर्मत कार्य नसकिए १ दिन थप हुने बताईएको छ । उनका अनुसार उक्त मर्मत कार्य ३ दिन भित्रै सकिने छ।आज बिहान देखि कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरु सटडाउन गरी मर्मत कार्य शुरु गरिएको प्राधिकरण पोखरा बितरण केन्द्र ग्रामिण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए ।
मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने प्राधिकरणले जनाएको छ । यसबाट उपभोक्तामा पर्न जाने असुविधा प्रति प्राधिकरणले क्षमा याचना गरेको छ।पछिल्लो समय पोखरामा ग्राहक संख्या बढेसँगै विद्युत खपत र माग पनि बढेकाले अपग्रेडका लागि मर्मत गर्न लागिएको प्राधिकरणले जनाएको छ ।















