काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेपछि त्यसबारे छलफल गर्न शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक आह्वान भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अगाडि आ–आफ्ना रणनीति तय गर्न दुवै पक्ष छलफल गरिरहेका छन् ।संस्थापन समूहले साढे १२ बजे ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन समूहबाट कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाएको छ ।
संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले कार्यसम्पादन समितिको बैठक अघि संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाइएको जानकारी दिए ।
यता केन्द्रीय समितिको बैठकले तय गरेको नियमित महाधिवेशन विज्ञप्तिमार्फत स्थगन गरेका महामन्त्रीद्वय थापा र शर्माले पनि कसरी अगाडि बढ्ने भन्नेबारे नेताहरूसँग छलफल गरिरहेका छन् ।
अहिले संस्थापन समूहको बैठक अगाडि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महत लगायतसँग छलफल गरेका छन् ।















