बाढीले उपल्लो मुस्ताङमा ६ वटा पुलमा क्षति

केन्द्रभाग मिडिया

पोखरा ।

उपल्लो मुस्ताङमा बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ । मंलबार साँझ लेदोसहितको बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक  र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको छ ।

नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।  उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दूरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको डीएसपी लामाले जानकारी दिए ।

बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा भने कुनै क्षति भएको छैन ।  साँझ त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको भएपनि अहिले त्यस क्षेत्रमा जोखिमको खतरा टरेको प्रहरीले बताएको छ । अहिले अवस्था समान्य छ । खोलामा बाढी आएकोले सतर्क रहन मुस्ताङ प्रशासनले मंगलबारदेखि नै आग्रह गरेको थियो ।

  • २५ असार २०८२, बुधबार ०८:३१ प्रकाशित