काठमाडौं।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रूपमा फिर्ता लिने भएको छ ।
असार ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिने जिम्मा संसदीय दललाई दिएको थियो ।
जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले बुधबारका लागि संसदीय दलको बैठक बोलाएका छन् । सो बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले बुधबारका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । सम्भवतः सरकारबाट समर्थन लिने निर्णय हुन सक्ने भन्दै उनले पार्टीले समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले संसदीय दलले त्यसलाई औपचारिकता दिने प्रस्ट पारिन् ।
नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारमा रहेका आफ्नो मन्त्रीलाई फिर्ता बोलाइ सरकारबाट समर्थन फिर्ता लिइसकेको छ । सुदूरपश्चिम सरकारमा रहेका मन्त्रीलाई त्यहाँका मुख्यमन्त्रीले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले प्रदेशदेखि संघसम्मको सरकारबाट समर्थन फिर्ता लिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालमाथि झन् दबाब बढेको हो ।














