काठमाडौं ।
सत्तारूढ दल नेपाली कांग्रेसले आगामी दिनमा केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरूको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रीय समितिको बैठक सबैको प्रत्यक्ष प्रसारण हुने बताएका हुन् ।
उनले प्रत्यक्ष प्रसारण भएको भए केन्द्रीय समितिको बैठक अझ राम्रो हुने धारणा राखे। केन्द्रीय समितिमा नेताहरूले बोलेका कुराहरू बाहिर गएर सबै सञ्चारकर्मीहरूसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश दिनु वा नदिनुको अर्थ नरहने बताए । आगामी दिनमा सबै केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण हुने घोषणा गरे ।
उनले भने, ‘यसको प्रत्यक्ष प्रसारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरू बाहिर गएर नेताहरू बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रसारणको समझदारी लागू गर्ने हो । सबै साथीहरूलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इच्छा पनि छ ।’
सभापति देउवाले मिडियामा आफ्ना भनाइहरू लैजाने चाहना सबै नेताहरूमा रहेको भन्दै आगामी दिनमा प्रत्यक्ष प्रसारण हुने बताए ।














