काठमाडौं ।
उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरे ।
स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए । साथै राईले टेक्निकल्ली मात्र पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दुस्ख लागेको बताए ।
यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन् ।प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्किएका छैनन् । उनी उतैबाट बेल्जियम गएको एन्फाले जनाएको छ ।
छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन ।















