एसपीलाई गालीगलौज गर्ने जसपा नेता फरार, खोजीकार्य तीव्र

केन्द्रभाग मिडिया

वीरगन्ज ।

सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् ।

मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ ।अहिलेसम्मको सूचना अनुसार यादव भारततर्फ फरार भइसकेको प्रहरी स्रोतको भनाइ छ ।

जिल्लाका एसपीलाई नै अपशब्द प्रयोग गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीको स्पेसल टोली परिचालन गरिएको मधेस प्रहरी कार्यालयको भनाइ छ । अदालतले पक्राउ अनुमति जारी गरेपछि प्रहरीको विशेष टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीविरुद्ध सार्वजनिक सेवामा रोकावट र उपद्रव कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

बिहीबार राति फोनमा सर्लाहीका प्रहरी प्रमुख खड्का र नेता यादवबिच गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

  • २२ असार २०८२, आईतवार १५:४२ प्रकाशित