फोनिज कास्कीको आयोजनामा भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताए । उनले फोनिजकर्मी पत्रकारहरु र विभिन्न आदिबासी संघसंस्थाको बृहतरको लागि महानगरले सधै सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका सचिवालय प्रमुख पूर्ण हेल्मोले आदीबासी जनजातिको पहिचान स्थापित गराउनका निम्ति गरिएको संघर्षको व्यवहारिक रुपमा कार्यान्वयन गराउनु आजको चुनौती रहेको बताए ।

फोनिज कास्कीका सल्लाहकार एवं तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले भाषा, कला र संस्कृतिको संरक्षणमा स्थानीय तहदेखि राज्य संयन्त्र सबैको भूमिका महत्वपूर्ण रहेको बताए मातृभाषाको संरक्षण, कलाको सम्मान र संस्कृतिको जर्गेनामा एकताको खाँचो रहेको बताए ।

त्यस्तै नेपाल आदिबासी जनजाति गण्डकी प्रदेश समन्वय समितिका प्रतिनिधितथा कुमाल समाज कास्कीका अध्यक्ष चेत बहादुर कुमालले आदिवासी जनजातिका मुद्धामा सबै चनाखो भएर लाग्न आवश्यक रहेको भन्दै यस्ता गोष्ठीले आदिवासी जनजातिको सवाललाई मार्गदर्शक गर्ने बताए ।

तमु धिं नेपाल केन्द्रीय सदस्य तथा भाषा संस्कृति संयोजक कृष्ण कुमार गुरुङले आदिवासी जनजातिको विगत र वर्तमान अवस्थाको बारेमा उल्लेख गरे । उनले आदिवासी जनजाति संघसंस्थाहरुलाई आफ्नो भाषा, कला र संस्कृति संरक्षणमा एकजुट भएर लाग्नु आजको आवश्यकता रहेको बताए ।

गोष्ठिमा भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिको बारेमा तमु धिंका केन्द्रिय महासचिव एवं अधिवत्ता जुना कुमारी गुरुङले प्रशिक्षण दिएका थिए थिए ।

उनले नेपालमा आदिबासी, जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षणमा पत्रकार, संघसंस्थाहरुलाई भाषागत र सांस्कृति चुनौति, सामाजिक विभेद, लगायतका बिषयमा आफ्नो प्रस्तुतीकरण दिए ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष विना कुमारी थापाको अध्यक्षतामा सम्पन्न सो गोष्ठिमा फोनिज केन्द्रिय सचिव एवं खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर, फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर गुरुङ (सुमन), अग्रज पत्रकार रविन्द्र माकाजु, फोनिज कास्कीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार दिलप्रसाद गुरुङ, सल्लाहकार उदय बहादुर अमात्य, तमु धिं नेपालका प्रथम उपाध्यक्ष गिमाया गुरुङ, शान्ति दर्शन महिला समुह नयाँबजारका अध्यक्ष जगन गुरुङ लगायत विभिन्न आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु एवं कास्कीका पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रममा स्वागत मन्तव्य फोनिज कास्कीका उपाध्यक्ष सुशील श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन सचिव देविका तामाङले गरेका थिए ।

  • १९ असार २०८२, बिहीबार २०:४१ प्रकाशित