पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र निर्मित इन्धन डिपो सञ्चालनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ ।नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो ।

निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधा सम्पन्न विमानस्थल निर्माण र सञ्चालनमा ल्याएसँगै यहाँ इन्धन डिपो स्थापना प्रक्रिया अगाडि बढेको थियो । यो विमानस्थलबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।

सोही जग्गामा अहिले अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको निगमले जनाएको छ ।

  • १९ असार २०८२, बिहीबार १५:५१ प्रकाशित