काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले पार्टीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गरेकी छिन् ।
बिहीबार पार्टीको सचिवालय बैठकमा आफूले बोलेको अभिव्यक्तिबारे सफाइ दिन केन्द्रीय कार्यालय आलोकनगर पुगेकी उनले नेताहरूले मिडियामार्फत स्पष्टीकरण सोधेकोमा असन्तुष्टि जनाइन् ।
‘शक्तिशाली पदाधिकारीहरुले स्पष्टीकरण मिडियातिर सोध्नुभएको रहेछ । मलाई त स्पष्टीकरण सोधेको छैन । मैले पनि आज बिहानभरि कान पाक्ने गरी त्यहीँ कुरा सुने’, सञ्चारकर्मीसँग उनले भनिन्, ‘टेलिभिजनबाट उहाँहरूले स्पष्टीकरण सोधिन्छ । पार्टीबाट निकालिन्छ भन्नुभएको छ । पार्टीले असार १५ गते यस्तो विषयमा क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन जारी गरेको छ । निर्देशनपछि प्रोत्साहन गरे जसरी भयङ्करै बोल्नुभएको छ । व्यक्तिगत तहमा उत्रिएर गाली गरिरहनुभएको छ ।’
झाँक्रीले स्पष्टीकरण बाहिर सोध्ने विषय नभएको भन्दै यसबारे बैठकमा बोलाइए सविस्तार जवाफ दिने पनि बताएकी छन् ।
आफ्नो तहको बैठक बोलाउन समय लाग्ने भएकाले त्यतिबेलासम्म व्यक्ति र पार्टीलाई धेरै क्षति हुने भनेर आफुले निवेदन नै लिएर आएको उनले जानकारी दिइन् । झाँक्रीको निवेदन पार्टी कार्यालयमा दर्ता समेत भैसकेको छ ।














