एएफसी महिला एसियन कप छनोट

श्रीलंका विरुद्ध नेपालको फराकिलो जित

केन्द्रभाग मिडिया

काठमाडौं ।

एएफसी एसियन कप महिला छनोट प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । उज्वेकिस्तानमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । त्यस्तै डिफेन्डर गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरे।

पहिलो हाफमा ४-० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको छ। पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। डिफेन्डर समीक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्।

खेलको ३० औँ मिनेटमा प्रिती राईको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो । खेलको ३१ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा नेपालले अग्रता थप्ने मौका गुमायो ।

खेलको ४२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३-० को अग्रता बनायो। कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले ३-० को अग्रता बनाएको हो। खेलको ४५ औँ मिनेटमा श्रीलंकाले पाएको फ्रिकीक प्रहार क्रसबारको माथिबाट बाहिरियो ।

पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यो सँगै नेपालले खेलमा ४-० को अग्रता बनाएको थियो । खेलको ५४ औँ मिनेटमा गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई ५-० को फराकिलो अग्रता दिलाइन् । श्रीलंकाका डिफेन्डरले रश्मी कुमारी घिसिङलाई लडाएपछि रेफ्रिले पेनाल्टीको इसारा दिएकी थिइन् ।

खेलको ५९ औँ मिनेटमा सविता राना मगरको प्रहार श्रीलंकाकी किपरको हातमा पुग्दा नेपालले गोल थप्ने सुन्दर मौका गुमायो। खेलको ६२ ओँ मिनेटमा निशा थोकरको गोलमा नेपालले ६-० को फराकिलो अग्रता बनाएको छ। अनिताको कर्नरमा निसाले हेडर गोल गर्दै नेपालले अग्रता फराकिलो बनाएको हो । खेलको ६७ औँ मिनेटमा साम्बाको फ्रिकीक प्रहार बारमा लाग्दै बाहिरिँदा नेपालले अग्रता फराकिलो अग्रता बनाउने मौका गुमायो ।

७८ औँ मिनेटमा रेखा पौडेलको हेडर गोलमा नेपालले ७-० को अग्रता बनायो। पूजा रानको पासमा रेखाले बललाई पोष्टको चुमाउँदै नेपाललाई फराकिलो अग्रता दिलाएकी थिइन् । खेलको ८१ औँ मिनेटमा पूजा रानाको कर्नरमा प्रिती राइको प्रहार क्रसबारको माथिबाट आकाशियो ।

खेलको ८९ औँ मिनेटमा पूजा रानाको गोलमा नेपाल ८-० को फराकिलो अवस्थामा पुग्यो । आज पूजा र रेखा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

समूह चरणको पहिलो खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो । श्रीलंकाले भने च्याम्पियनसिपमा लगातार दोस्रो हार व्यहोरेको हो। श्रीलंकाले पहिलो खेलमा उज्वेकिस्तानसँग १०-० को फराकिलो हार व्यहोरेको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले २१ गते घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

  • १८ असार २०८२, बुधबार २०:५० प्रकाशित