काठमाडौं ।
सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्दै कमेन्ट गर्नेविरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताइन् ।
केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् । तर कतिपय भने झन् हौसँदै एलिनाहरूमाथि गाली गलौज गरिरहेका छन् ।
त्यसरी प्रोफाइल सार्वजनिक गर्दा पनि पटकपटक असभ्य व्यवहार गर्नेहरू चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताएकी छिन् । बाँकीविरुद्ध पनि उजुरी हाल्ने तयारीमा रहेको उनको भनाई छ ।
यसका लागि एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सारेकी छन् ।यसबीच एलिना र समीक्षालाई कलाकारदेखि राजनीतिज्ञसम्मको साथ रहेको छ । उनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत फेसबुकमार्फत ‘साहसी छोरीहरू’ भन्दै पोस्ट गरेका थिए ।
साइबर ब्युरोमा पनि प्रहरीहरूबाट सकारात्मक रेस्पोन्स मिलेको एलिनाले बताइन् ।














