पोखरा ।
गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डे कारबाहीमा परेका छन् । आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई बजेट निर्माणमा बदमासी गरेको भन्दै प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको हो ।
उनलाई मुख्यमन्त्री कार्यालय मातहत जगेडामा तानिएको छ ।
उनीमाथि विकास कार्यक्रम तयार गर्ने क्रममा नीतिगत प्रक्रिया उल्लङ्घन, विषयगत मन्त्रालयको सिफारिसविनै योजना समावेश र आफ्नै पालिका भानु नगरपालिकामा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको आरोप छ ।
वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा पाण्डेको जन्मस्थान समेत रहेको तनहुँको भानु नगरपालिका, विशेषतः चितिखोला क्षेत्रमा मात्रै दर्जनौँ योजना विनियोजन भएको छ । बेलीब्रिज निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन, वृत्तचित्र निर्माण जस्ता शीर्षकमा झन्डै ३३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।














