पर्वत ।
पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।
घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।














