मुग्लिन–पोखरा पश्चिम खण्ड कालोपत्रे पुरा गर्न १७५० मिटर बाँकी

निर्माण गर्नुपर्ने १२ वटा पुल मध्ये १० वटाको निर्माण सकियो, १०२ कल्भर्ट निर्माण गर्नुपर्नेमा ९६ वटा निर्माण सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गमा अब १७ सय ५० मिटर  मात्र एकतर्फी कालोपत्रे पुरा गर्न बाँकी छ । मुग्लिङ–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले अब विजयपुरको एप्रोजमा ५५० मिटर, डाँडाको नाकमा १४० मिटर, पोखरा विश्वविद्यालय गेट तर्फ ६७० मिटर र मौरोभिरमा ३७० मिटर गरि जम्मा १७ सय ५० मिटर कालोपत्रेको काम बाँकी रहेको जानकारी दिए । आयोजना प्रमुख कुँवरका अनुसार हालसम्म पश्चिम खण्डको निर्माणको काम भौतिक तर्फ ५३.७९ प्रतिशत र बित्तीय प्रगति ३९.७५ प्रतिशत भएको छ ।

जम्मा ३८.८८ किलोमिटर मध्ये २०.५५ किलोमिटर चार लेन र १८.३३ किलोमिटर चार लेन प्लस सर्भिस लेन निर्माण गर्नुपर्नेमा एक तर्फी ३६.८० मिलोमिटर खण्डमा प्रथम तहको कालोपत्रेको काम सकिएको छ । त्यस मध्येमा २५.७५ किलोमिटर खण्डमा दुई तर्फी (चारलेन) र ११.०५ किलोमिटर एकतर्फी (दुईलेन) सडक कालोपत्रे भएको हो ।

पश्चिम खण्ड अन्तर्गत १२ वटा पुल निर्माण गर्नुपर्नेमा १० वटा पुल निर्माणको काम सकिएको छ । अब दुईवटा पुल मात्र निर्माण गर्न बाँकी छ । त्यसैगरी १०२ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा ९६ वटा कल्भर्ट निर्माणको काम सकिएको छ ।

आयोजना प्रमुख कुँवरले आयोजनालाई निरन्तरता दिन अझैपनि केही समस्या रहेको जानकारी दिए । उनका अनुसार हालसम्म पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट, प्राइभेट टास्क हाइड्रो सहित २६७ वटा विद्युतीय पोल स्थानान्तरण गर्न बाँकी नै छ । यसैगरी खानेपानीको स्थानात्तरण भइरहेको तर सुस्त गतिमा काम भएको, रुख कटान सम्पन्न भएपनि लिलामी हुन नसकेका लगायतका समस्या रहेको प्रमुख कुँवरले बताए ।

पोखरा मुग्लिन सडक (पश्चिम खण्ड) विस्तारको सुरुवात ३ जेठ २०७८ भएको हो । यसको द्रोस्रो पटक थपिएको म्याद अनुसार निर्माण सम्पन्न गर्नुपर्ने मिति अब १६ भदौं २०८२ सम्म रहेको छ ।

 

 

 

  • १२ असार २०८२, बिहीबार १९:०० प्रकाशित