स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् ।

उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने छन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

  • १२ असार २०८२, बिहीबार १०:५४ प्रकाशित