पतञ्जलि जग्गा घोटाला प्रकरणमा बयानका लागि आज विशेष अदालत पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिए पछि अहिले थुनछेक बहस सुरु भएको छ ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप नेपालमाथि लागेको छ । नेपालको विशेष अदालतमा बयान सकिएसँगै खाजा ब्रेकपछि थुनछेक बहस सुरु भएको हो।
आज इजलासमा मोबाइल लैजानसमेत बन्देज लगाइएको छ। रिपोर्टिङमा गएका पत्रकारहरूलाई समेत मोबाइल लिएर इजलासमा लैजान निषेध गरिएको छ। खानतलासी गर्दै मोबाइल लकरमा राखेपछि मात्रै इजलासमा प्रवेश दिइएको छ।
जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज बयान दिन गएका थिए।
नेपालका पक्षबाट ५० जनाले वकालतनामा लेखाएको तर ८ जनाले मात्रै बहस गर्ने तय भएको छ।
अख्तियारको तर्फबाट कम्तीमा ४ जनाले बहस गर्नेछन्। विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहन सागर बस्याल नेतृत्वको टोलीका साथै अख्तियारमा रहेका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल र पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले अख्तियारको तर्फबाट बहस गर्ने भएका छन्।
पन्तलाई अख्तियारले निजी कानुन व्यवसायीका रूपमा नियुक्त गरेको हो। नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, ललित बस्नेत, चन्द्रकान्त ज्ञवालीलगायत छन्।














