चितवन ।
चितवनको राप्ती नगरपालिका-४ मा एक चेपाङ दम्पतीले भिरबाट हाम फालेका छन् । भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार घरायसी झगडा भएपछि श्रीमान्–श्रीमती दुईजनाले सँगै भिरबाट हाम फालेको थिए ।
भिरबाट हाम फालेकी राप्ती नगरपालिका-४ चौकीडाँडा बस्ने ४२ वर्षकी कुमारी प्रजा चेपाङको मृत्यु भएको छ भने उनका श्रीमान् ४७ वर्षीय लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते भएका छन् ।
घाइते लिलाको भरतपुर अस्पतालको उपचार भैरहेको छ । उनको कानबाट रगत बगेको छ भने कुममा चोट लागेको प्रहरीले जनाएको छ । हाम फालेकी कुमारीको ढुंगामा ठोकिएर ज्यान गएको बताइएको छ ।
मंगलबार मध्याह्नतिर उनीहरूले खहरे खोलाको भिरबाट हाम फालेका थिए । दुई जनाले झगडा गरी सँगै भिरतर्फ गएको डीएसपी खनालले बताए ।
राप्ती नगरपालिका-४ का वडाध्यक्ष केदार आचार्यले चेपाङ दम्पती मदिरा सेवन गरेर झगडा गरेको र श्रीमती भिरबाट हाम फाल्न खोज्दा श्रीमानसमेत लडेको स्थानीयले आफूलाई जानकारी गराएको बताए ।














