रोशी खोलाको बाढीमा फस्यो जेसीबी र टिपर, ५ जनाको उद्धार

केन्द्रभाग मिडिया

मकवानपुर ।

गएरातिको वर्षाका कारण आएको रोशी खोलाको बाढीमा जेसिबी र टिपर फसेका छन् । नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति ९ बजेको समयमा पानीको बहाव एक्कासि बढेपछि जेसीबी र टिपरसहित ५ जना व्यक्ति खोलाको बीचमा फसेका थिए।

खोलाको पानी एक्कासि बढेपछि फसेका ५ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्थानीय निर्माण कार्यका लागि खोलामा गएका बेला एक्कासि आएको बाढीका कारण उनीहरू फसेका थिए। उद्धारपश्चात् सबैलाई सुरक्षित स्थानमा पुर्‍याइएको जनाइएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीमा फसेका ठेकेदार काभ्रे, तेमाल गाउँपालिका–५ का ४२ वर्षका सञ्जय लामा, जेसीबी चालक दोलखा भीमेश्वर नगरपालिका–९ का २९ वर्ष समिर तामाङ, टिपर चालक तेमाल गाउँपालिका–९ का ३२ वर्षका रेमन तामाङ, टिपर सहचालक नमोबुद्ध नगरपालिका–५ का १९ वर्षका मुस्कान तामाङ र लेबर काम गर्ने ओखलढुङ्गा दुधकोशी गाउँपालिका–४ का २१ वर्षका सागर राईको उद्धार गरिएको हो ।

प्रहरीका अनुसार, अहिले रोशी खोलामा पानीको बहाव अझै उच्च रहेको हुँदा सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ। खोलामा फसेको जेसिबी र टिपर निकाल्न सकिएको छैन ।

  • ६ असार २०८२, शुक्रबार १२:५९ प्रकाशित