पोखरा ।
पोखरा महानगरपालिका छाडा चौपाया व्यवस्थापनमा सफल देखिएको छ । पछिल्लो करिव तीन वर्षमा छाडा चौपायामा सवारीसाधन ठोकिएर कुनै मानवीय क्षति बेहोर्न नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्रफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सोभा पाण्डेले देशका अन्य सहरको तुलनामा पोखरामा छाडा चौपाया व्यवस्थापन अत्यन्त राम्रो रहेको बताइन् ।
सडकमा छाडा चौपाया भेटेमा आफूहरुले पोखरा महानगर प्रहरीसंग समन्वय गर्ने र नगरप्रहरीले पोखरा १४ बाच्छेबुढुवामा रहेको पुष्करिणी परोपकार गोकुलधाममा लगेर छाड्ने गरेकोे उनले बताइन् । ‘पछिल्लो करिव ३ वर्षमा छाडा चौपायाका कारण पोखरामा कुनै मानवीय क्षति छैन ।’ उनले भनिन्, महानगर प्रहरीको समन्वयमा सडकमा देखिएका गाईगोरु र चौपाया व्यवस्थापन भइरहेको छ । अन्य सहरको तुलनामा पोखरामा छाडा चौपाया व्यवस्थापन राम्रो छ ।’ पुष्करिणी परोपकार गोकुलधाम पोखरा महानगरपालिकाको सहयोग र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा सञ्चालित रहेको छ ।
पुष्करिणी परोपकार गोकुलधामको व्यवस्थापन गरिरहेको संस्था राष्ट्रिय परोपकार महासंघका संरक्षक भागवत भास्कर कमलनयन गौतमका अनुसार अहिले गोकुल धाममा सडकमा छाडिएका ३१८ भन्दा धेरै गाई गोरु पालिएको छ । ‘अहिले गोकुलधाममा सडकमा छाडिएका गोवाशं (गाई र गोरु) ३१८ भन्दा धेरैको संख्यामा छन् ।’ उनले भने, ‘सडकमा छाडा गाईगोरु देखिए गोकुलधामका कर्मचारी एवं महानगर प्रहरीले लिएर आउनुहुन्छ । कतिपयले सिधै यहीँ ल्याएर पनि छोड्नुभएको छ । हाम्रो आग्रह सकेसम्म आफूले पालेको गाईगोरु छाडा छाड्दै नछाड्नु । छाड्ने नै हो भने गोकुलधाममा नै ल्याएर छोड्नु ।’
पोखरा महानगरका प्रमुख धनराज आचार्यल पोखरामा छाडा चौपायकै कारण कुनैपनि क्षति बेहोर्न नपर्नु सुन्दर पक्ष भएको बताए । उनले राम्रो व्यवस्थापनका बाबजुद् अझैपनि फाट्टफुट्ट छाडा चौपाया देखिने गरेका भन्दै व्यवस्थापन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । ‘दुई वर्षदेखि छाडा चौपायाका कारण दुर्घटना नहुनु सुन्दर पक्ष हो । अझैपनि कहिलेकाँही सडकमा फाट्टफुट्ट गाईगोरु देखिने गरेका छन् । यसको पनि नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक छ’ उनले भने ।
महानगरका प्रमुख आचार्यले अब आफूहरुको ध्यान सामुदायिक कुकुर व्यवस्थापनमा रहेको बताएका छन् । विगतमा भुस्याहा कुकुर भनेर चिनिने सामुदायिक कुकुरको व्यवस्थापन चुनौतिपूर्ण रहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष मात्रै ५७ सय कुकुरको बन्ध्याकरण गरिएको छ ।
कसरी भइरहेको छ व्यवस्थापन ?
परोपकार महासंघका संरक्षक भागवत भास्कर कमलनयन गौतमको अग्रसरतामा पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित बाच्छेबुडुवामा पुष्करिणी परोपकार गोकुलधाम सञ्चालनमा छ । त्यहाँ पोखराका सडकमा भेटिएका छाडा गाईगोरु नगर प्रहरीले खेदेर र गाडीमा राखेर पुर्याउँछ । त्यसपछि लगिएका गाई गोरुको सामान्य स्वास्थ्य परीक्षण गरेर राख्ने स्थान छुट्याइन्छ ।
कतिपय दुहुना गाई समेत सडकमा भेटिन्छन् ससाना बाच्छाबाच्छी दुहुना गाई, रोगी गाईगोरुका लागि अलग अलग राखेर हेरचाह गर्ने व्यवस्था गरिएको कमलनयन गौतमले जानकारी दिए ।
उनका अनुसार महनगरपालिकाले पोखरा १४ बाच्छे बुढुवामा विगतको ल्याण्डफिलसाईडसंगै करिव ३५ रोपनी क्षेत्रफल चरन क्षेत्रको रुपमा र १० रोपनी क्षेत्रफलमा तारबारसहित छाना र गाइगोरु बस्ने स्थलको रुपमा विकास गरिएको छ ।
गौतमले गौसालामा रहेका चौपायाबाट प्राप्त हुने गोबर र गहुँतलार्ई प्रशोधन गर्ने, गाईको दूधको परिकार बनाउनुका साथै समग्र उक्त क्षेत्रलाई नै एक दर्शनीय पर्यटकीय स्थल बनाउने योजना रहेको जानकारी दिए ।














