पोखरा ।
गण्डकी प्रदेशका सांसद गुरुङ (दिपक मनाङे) पदमुक्त भएका छन् । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका मनाङे गण्डकी प्रदेश सांसदबाट पदमुक्त भएका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो ।
‘उनको ५ वर्ष कैद भएको मानेर आजका दिनदेखि सांसद पद बदर भएको हो । अब उनी पदमा रहेनन्,’ अदालत उच्च स्रोतले भनेको छ ।
अधिवक्ता वीरेन्द्रराज कार्कीले १३ पुस २०७९ मा मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए। मनाङे विभिन्न फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएकाले चुनावमा उम्मेदवार बन्न नपाउने उनको तर्क थियो।
तर, त्यसबखत फैसला अन्तिम नभइसकेको र सर्वोच्चमा पुनरवलोकनको क्रममा रहेको कारण चुनाव लड्न अयोग्य नभइसकेको तर त्यसपछि सर्वोच्चबाट अन्तिम फैसला भएकाले अब उनी पदमा रहन नपाउने संवैधानिक इजलासको निष्कर्ष छ ।
मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चबाटै दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।















