टी–२०आई शृंखला

स्कटल्यान्डमाथि नेपालको २ विकेटको जित

केन्द्रभाग मिडिया

पोखरा ।

नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको हो । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बलमा उनले ४ चौका प्रहार गरे । लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो ।

नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए । बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २.२ र ललित राजवंशीले एक विकेट लिए ।

  • ३ असार २०८२, मंगलवार २३:०७ प्रकाशित