काठमाडौं । विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए ।
लिङ्देनले जबर्जस्ती बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । यदि बैठक सञ्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।














