गण्डकीभर विविध कार्यक्रम गर्दै सकियो ट्राफिक सचेतना सप्ताह

दुई लाखभन्दा धेरैको सहभागिता, यही अबधिमा ८ ठाउँमा भएको सवारी दुर्घटनामा परेर ५ जनाको ज्यान गुम्यो, १० जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा २५ जेठमा सुरु सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शनिबार (३१ जेठमा) समापन भएको छ । ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ११ वटै जिल्लामा भएको ट्राफिक सचेतना सप्ताहमा लाखौंको सहभागिता भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आयोजित ट्राफिक स्पताह २०८२ समिक्षा तथा समापन समारोहमा उनले यस्तो जानकारी दिएका हुन् । उनले आफ्नो ठाउँमा राम्रो व्यवस्थापन गर्नसके त्यसको प्रभाव देशव्यापी रुपमा पर्ने धारणा राखे ।

उनले ट्राफिक सचेतना सप्ताह मनाएकै अबधिमा गण्डकी प्रदेशभर ८ वटा सवारी दुर्घटना भएका र त्यसमा परेर ५ जनाको ज्यान गुमेको  जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनले  पैदलयात्रु, साइकलयात्री, दुईपांग्रे सवारी साधनमा यात्रा गर्नेहरु बढी जोखिममा रहने हुँदा अझ बढि सचेतना जगाउनुपर्ने धारणा  राखे ।

उनका अनुसार ११ जिल्लामा गरेर २ लाख भन्दा धेरैजनाको सहभागिता ट्राफिक सचेतना सप्ताहमा रहेको थियो । ट्राफिक सप्ताहमा सवारीको मेकानिकल चेकिङ, चालक सह-चालकको स्वास्थ्य चेकाजाँच, लघु सचेतना कार्यक्रम , ट्राफिक नियम सम्बन्धि कक्षा सञ्चालन, सवारीमा आरक्षण सिट रहे नरहेको अनुगमन, तिव्र गति र ओभरटेक चेकिङ, भाडादर अनुगमन, ग्रामिण सडक लक्षित चेकिङ, ट्राफिक नियम सम्बन्धी माईकिङ, हेल्मेट र सिटबेल्ट चेकिङ, ट्राफिक सचेतनामुलक पर्चा बितरण र रक्तदान कार्यक्रम लगायतका कार्यक्रम गरिएको उनले जानकारी दिए ।

ट्राफिक सचेतना सप्ताहमा सरोकारवालाको व्यापक सहभागिता गराउन सफल भएको उनले बताए ‘हाम्रो कार्यक्रममा सरोकारवालाको व्यापक सहभागिता भयो । यसले ट्राफिक सचेतना र दुर्घटना न्युनिकरणमा व्यापक रुपमा प्रभाव पार्नेमा हामी विस्वस्त छौं’ उनले भने ।

समिक्षा कार्यक्रममा प्रदेशका ११ वटै जिल्लामा भएका विभिन्न कार्यक्रमको बारेमा प्रस्तुति राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेयले सबैपक्षको सहभागिताले ट्राफिक सप्ताह सफल भएको धारणा राखिन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आवश्यकता अनुरुप भौतिक पूर्वाधार नबन्दासम्म सहज ट्राफिक व्यवस्थापनमा समस्या रहेको बताए । महासंघ गण्डकीका सचिव एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले जिम्मेवार पक्ष गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले यातायात व्यवस्थापन र ट्राफिक व्यवस्थापनको विषयलाई हल्का रुपमा लिने गरेको टिप्पणी गरे । ट्राफिक सप्ताहले केही न केहीमात्रामा जनचेतना जगाउन सफल भएको चर्चा गरेको उनले सरोकारवालाको आवाजलाई सम्बोधन गर्ने निकाय गम्भिर नबन्दा समस्या बल्झेको उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुले ट्राफिक सप्ताह लगायतका अभियानको परिणाम तत्काल नभई दीर्घकालमा देखिने बताए । यस्ता अभियानमा यातायात व्यवसायीको सधैं साथ रहने भन्दै कार्यक्रममा सहभागीता व्यापक भएपनि रिजल्ट कस्तो आउँछ भनेर हेरिनुपर्ने धारणा राखे ।

समिक्षा कार्यक्रममा यातायात व्यवसायी, यतायात सम्बद्ध विभिन्न श्रमिक संगठनका नेताहरु र पत्रकारहरुको सभागिता थियो ।

ट्राफिक सचेतना सप्ताह २०८२ को औपचारिक उद्घाटन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बीच गरेका थिए । उद्घाटन पूर्व पोखराको मानव अधिकार चोकबाट प्रभातफेरीसहितको र्याली गरिएको थियो । विद्यार्थी, यातायाता व्यवसायी, यातायात संम्बद्ध मजदुर, सुरक्षा निकाय एवंं विभिन्न सरोकारवाला सहभागी र्योली चिप्लेढुंगा, न्युरोड हुँदै सभागृहमा पुगेर औपचारिक उद्घाटन समारोहमा परिणत भएको थियो ।

  • ३१ जेष्ठ २०८२, शनिबार १७:३१ प्रकाशित