पोखरा ।
पोखरामा शुक्रबार १० वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ६ वाटा सवारी साधन मापदण्ड विरित भेटिएका छन् । डिजेलबाट चल्ने १० सवारी साधनको चेकजाँच गर्दा ६ वटा मापदण्ड विरित भेटिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । पोखरामा जारी ट्राफिक सचेतना सप्ताह अन्तर्गत शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी कास्कीको सहकार्यमा पोखराको न्युरोडमा प्रदूषण चेकजाँच गरिएको हो ।
हरेक ६/६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य रहेपनि पुरानो डिजेल स्मोकमिटर विग्रदा विगत झण्डै ८ महिनादेखि यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा प्रदूषणको मात्रा चेक चेकजाँच गर्न पाइएको थिएन । सामान्य धुँवा हेर्रेर मूल्यांकन गर्नुपर्ने अवस्था थियो । नयाँ डिजेल स्मोकमिटर १५ दिन अगाडि ल्याएपछि डिजेलबाट चल्ने सवारी चेकजाँच गर्न पाइएको हो । जसमा ओपासीटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकुल नै मानिने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका मेकानिकल इन्जिनियर सुमन शर्माले जानकारी दिए ।
१० वटा सवारी साधन चेकजाँच गर्दा ६ वटा प्रदूषण मापनमा फेल हुनु भनेको पोखराको वातावरणका लागि निकै प्रतिकुल मान्नुपर्ने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख शर्माको भनाई छ । ‘१० वटा चेकजाँच गर्दा ६ वटा मापदण्ड विपरित पाइयो भनेपछि अवस्था बुझिहाल्नुभयो । यो पोखराको हकमा डरलाग्दो नै मान्नुपर्छ’ उनले भने ।
प्रमुख शर्माका अनुसार प्रदूषण गर्ने सवारी साधन सुरुमा मर्मतसंहार गरेर चलाउन निर्देशन दिइएको छ । त्यसपछि पुन जाँच गरेर मापदण्ड अनुरुप पाइएमात्र नियमित सञ्चालन गर्न दिइन्छ । मापदण्ड विपरीत वातावरण प्रदूषण गर्ने सवारी साधनको इजाजत रुटसम्म खारेज गर्न सकिने उनले बताए ।
प्रदूषण जाँच्ने यातायात कार्यालय गाल खाने ट्राफिक प्रहरी !
सवारीको जाँचपास गर्ने प्रविधि यातायात व्यवस्था कार्यालयसंग हुन्छ । ट्राफिक प्रहरीले नियम अनुरुप सञ्चान भएनभएको हेर्ने हो । तर, पोखरामा नांगो आँखाले हेदा समेत मापदण्ड विपरीत (वायुप्रदुषणगर्ने सवारी साधन) चल्ने सवारी देख्दा समेत ट्राफिक प्रहरीले छाड्ने गरेको भन्दै आफूहरुले गाल खाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेयले गुनासो गरिन् ।
‘हामीसंग सवारीको वायुप्रदूषण नापजाँच गर्ने मेशिन र जनशक्ति हुँदैन । हामीले जाँचपासका लागि यातायात कार्यालयको प्राविधिक टिमलाई सहयोग गर्ने हो । तर, बुझेर वा नबुझेर आम नागरिकले ट्राफिक प्रहरीलाई नै गाली गरिरहेको पाउँछौं ।’ उनले भनिन्, ‘सवारी साधन यान्त्रिक रुपमा पनि ठिक हुनुपर्छ । त्यसो हुँदा दुर्घटना कम गर्न मद्यत पुग्छ । सवारी नियमको पालना गर्नु सबैको कर्तव्य हो ।’
कहाँ गएर मर्मत गर्दा राम्रो हुन्छ भनेर तोकिदिए हामी त्यहीँ गएर मर्मत गर्छौं : व्यवसायी
सार्वजनिक सवारी साधनले वातावरण प्रदूषित हुनेगरी अत्याधिक धुवाँ फाल्ने गरेको बारे जिज्ञासा राख्दा पोखरा यातातयात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले मर्मत गर्दासमेत मापदण्ड अनुरुप चलाउन नसकिएको स्विकार गरे । आफ्नो सवारी साधनलाई मर्मतसंहार गरेर राम्रो राख्ने इच्छा र प्रयास हुँदाहुँदैपनि नसकिएको उनको गुनासो छ ।
उनले सवारी साधन कन्डिसनमा राख्नका लागि इन्धनपनि सुद्ध हुनुपर्ने बताए । साथै मर्मतसंहार गर्ने दक्ष प्राविधिकको पनि पोखरामा अभाव रहेको उनको भनाई छ । ‘खराव इन्धनका कारण हो वा के हो ? त्यो, थाहा भएन । आफ्नो सवारी साधन राम्रो कन्डिसनमा होेस् भन्ने सबैको चाहना हुन्छ । हामीले प्रयास पनि गरेका छौं । कतिपय सवारी साधन मर्मत गर्दापनि जाँचपास हुन नसकेर फाल्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘सरकारले नै यहाँ गएर मर्मत गर भनिदिए त्यहीँ गएर हामी नियमित मर्मत गर्थ्यौं । दक्ष जनशक्ति उत्पादन गर्ने र उपलब्ध गराउने दायित्व सरकारको पनि हो,’ उनले भने ।















