एयर इन्डियाको जहाजमा बम भएको हल्ला : थाइल्याण्डमा आकस्मिक अवतरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे (स्थानीय समय अनुसार दिउँसो साढे २ बजे) सो विमान उडेको थियो ।

तर अण्डमान सागर माथि आइपुगेका बेला सो विमान फर्किएर फुकेट विमानस्थलमै अवतरण गरेको थियो । विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको रोयटर्सले जनाएको छ ।

लण्डन जाँदै गरेको एयर इन्डियाको जहाज मुम्बई फर्कियो

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।

  • ३० जेष्ठ २०८२, शुक्रबार १३:४२ प्रकाशित