पोखरा ।
नेपाल नेत्रज्योति संघले ट्राफिक प्रहरी र पत्रकारका लागि चस्मा वितरण गरेको छ । संघले बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरी र कास्कीका पत्रकारका लागि चस्माप्रदान गरेको हो । एक कार्यक्रमका बीच १६ लाख ५० हजार रुपैयाँ बराबरको चस्मा प्रदान गरिएको हो । ट्राफिक प्रहरीका लागि ४५० थान पत्रकारका लागि १०० थान चस्मा दिइएको छ ।
हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको सहयोग र हिमालय आँखा अस्पतालको समन्वयमा चस्मा वितरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए। कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला र नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष माधव बराललाई चस्मा हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा बोल्दै महासचिव भरतबहादुर चन्दले ट्राफिक र पत्रकारहरुको निशुल्क आँखा उपचारका लागि सम्झौता भइसकेकाले शिविरलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए । उनका अनुसार नेपालमा बर्सेनि ३५ लाख बढीको आँखा उपचार गरिन्छ भने, ३ लाख बढीको अप्रेसन हुने गरेको छ ।
कार्यक्रममा नेपाल नेत्रज्याति संघ गण्डकी अध्यक्ष प्राडा. दीलबहादुर क्षेत्रीले ट्राफिक प्रहरी र पत्रकार फिल्डमा खट्नुपर्ने हुँदा स्वस्थ आँखाका लागि चस्म वितरण गरिएको जानकाुी दिए । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा ट्राफिक प्रहरीको व्यस्तता र कर्मलाई ख्याल गरेर चस्मा प्रदान गरिएको प्रति आभार प्रकट गरे ।
हिमालय आँखा अस्पताल, सञ्चालक समितिका सचिव डा. नारायण बरालले नारायण श्रेष्ठ नेतृत्वका हेल्पिङ ह्याण्ड्समार्फत उपलब्ध चस्माको मूल्यभन्दा पनि यसले दिने सन्देश अझ ठूलो रहेको बताए । नेपालमा एक सय जनामध्ये १७ जनामा आँखाको कुनै न कुनै समस्या भएकाले बेलैमा सजग हुन उनको आग्रह थियो ।














